काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ। आज प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको र आफूलाई बद्नाम गर्न मात्रै खोजिएको जिकिर गर्नुभएको हो।
नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहनु भएका अर्थमन्त्री पुनले सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्दै न्यायिक छानबिनमा आफू जस्तोसुकै अवस्थामा पनि तयार रहेको बताउनु भयो।
चिनियाँ सुन तस्कर दावा छिरिङसँग अर्थमन्त्री पुन,पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन,माओवादीका उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरासहितका उच्च पदस्थ राजनीतिक व्यक्तिसँग सम्पर्क तथा आउजाउ रहेको तथ्य यसअघि नै खुलिसकेको छ।
तर महरासँग मात्रै सामान्य सोधपुछ गरेको प्रहरीले अन्य नेतालाई भने यसअघी नै उन्मुक्ति दिएको छ।