काठमाडौं। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिए।खुम्चिँदै गएको विश्वासलाई प्रचण्डको हाउभाउ र अनुहारले पनि प्रतिबिम्वित गरेको थियो ।
संसदमा समेत सहयात्री दलका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग छलफलको आह्वान गर्नु, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रचण्डबाट पटकपटक धोका भएको बताउनु, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले धोका पाएका दलहरु एकठाउँमा उभिन सक्ने संकेत गर्नुले प्रधानमन्त्रीलाई बेचैन तुल्याएको सहजै अनुमान लगाउन सकिन्थ्यो।
संसदको दृष्य हेर्दा प्रचण्डमाथि विश्वासको मत दिएकै दलहरुको मनभित्र अविश्वास रहेको स्पष्ट झल्किन्थ्यो। नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रचण्डले एक सेकेण्डभित्र तीनथरी कुरा गर्ने गरेको बताउँदै गठबन्धनको आयू स्थिर नहुने संकेत गर्नुभएको छ।
अहिलेको समिकरणभित्र प्रचण्डलाई १५७ जनाले मात्रै विश्वास गरेका छन्। १५७ जनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्दा प्रधानमन्त्रीको पद धरापमा पर्छ भने जसपा र नेकपा एस मिल्दा समेत प्रचण्डलाई समस्या देखिन्छ ।
जसपाभित्र पनि अध्यक्ष उपेन्द्र यादवसँग धेरै सांसदहरु रुष्ट देखिन्छन्। मन्त्री बन्नका लागि मरिहत्ते गर्ने यादवको स्वभावलाई देखेर कैयन नेता, कार्यकर्ताहरु पनि आजित बनेका छन्।
स्रोतका अनुसार नेकपा एस र जसपाका केही सांसदहरु प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा थिएनन्। नेकपा एमालेका नेता माधव ढुंगेलले अहिलेको सरकारबाट पनि धेरै ठूलो आशा नभएपनि विगतको सरकारका गलत प्रवृत्ति नदोहोरिनेमा विश्वस्त बन्न सकिने दाबी गर्नुभयो।
नेपाली कांग्रेस अहिलेको अवस्थालाई नजिकबाट हेरिरहेको नेता नैनसिंह महरको भनाइ छ। यो गठबन्धनमा समेत टकराव आए अर्को समिकरण बन्ने र प्रचण्डले कांग्रेस सम्झिने उहाँको भनाइ छ।राजनीतिक विश्लेषकहरुले पनि मुलुकको राजनीति निकै अस्थिर बनिसकेको बताएका छन्।
राजनीतिक नेतृत्वमा लोभ पापले डेरा जमाउँदा जनताले दुख पाइरहेको उनीहरुको दाबी छ। प्रधानमन्त्री प्रचण्डको हकमा यो अवस्था निकै जटिल बन्ने देखिएको छ। प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने दिन समेत आउन सक्ने धेरैको आंकलन रहेको छ।