Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री पुनसँग स्वीस राजदूत डेनिएल मेउलीको भेटवार्ता

अर्थमन्त्री पुनसँग स्वीस राजदूत डेनिएल मेउलीको भेटवार्ता

  • बिहिवार, चैत्र १ २०८०

  • 595
    SHARES

  • अर्थमन्त्री पुनसँग स्वीस राजदूत डेनिएल मेउलीको भेटवार्ता
    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि स्वीस राजदूत डेनिएल मेउलीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
     
    उक्त भेटमा राजदूत मेउलीले आगामी वैशाखमा हुने लगानी सम्मेलन सफल पार्न स्वीटरजरल्याण्डका तर्फबाट सबै प्रकारको सहयोग रहने बताउनुभयो । दूतावासले नेपालको लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेको र स्वीट्जरल्याण्डको निजी क्षेत्र नेपालमा लगानी भित्र्याउन इच्छुक रहेको जानकारी उहाँले दिनुभयो । 
     
    ‘नेपालमा क्रमशः लगानीको वातावरण बन्दै गएकाले हामीले हाम्रा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई नेपालमा लगानी ल्याउन भनेका छौं’, उहाँले भन्नुभयो, लगानी सम्मेलनमा स्वीट्जरल्याण्डका व्यवसायीको उत्साहपूर्ण सहभागिता रहने जानकारी गराउन चाहन्छु ।’ 
     
    उहाँका अनुसार लगानी सम्मेलन अगाडि नै सकिने सम्भाव्य लगानीका क्षेत्र पहिल्याउन आगामी साता स्वीट्जरल्याण्डबाट ‘वित्तीय विकासका लागि संयुक्त मिसन’ नेपाल आउँदै छ । मिसन टोलीले सरकारी अधिकारीहरूका साथै नेपालको निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने तय भएको छ । आगामी २३ अगष्टमा स्वीस ग्लोबल इन्टर प्राइजेजका तर्फबाट पनि प्रतिनिधि मण्डल नेपाल आउने तयारीमा रहेको जानकारी राजदूत डेनिएलले दिनुभयो । उक्त टोलीले नेपालको निजी क्षेत्रसँगको सहकार्यमा आयात–निर्यातसम्बन्धी क्षेत्रमा सहकार्यको चाहना राखेको उहाँको भनाइ थियो । 
     
    यस्तै राजदूत मेउलीले आफूहरूसँग विमानस्थल व्यवस्थापनसम्बन्धी राम्रो अनुभव भएकाले नेपालका विमानस्थल व्यवस्थापनमा चासो रहेको समेत बताउनुभयो । उहाँले ट्रेल बेस टुरिज्म र कोशी प्रदेशका पालिकाहरूमा राजश्व परिचालनसम्बन्धी पाइपलाइनमा हरेका स्वीस परियोजनाका काम मन्त्रालयका तर्फबाट छिटो अघि बढाउन मन्त्री पुनलाई आग्रह गर्नुभयो । 
     
    मन्त्री पुनले स्वीट्जरल्याण्ड नेपालको पुरानो मध्येको एक महत्त्वपूर्ण विकास साझेदार रहेको तथा द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको चर्चा गर्नुभयो। आगामी दिनमा समेत सम्बन्ध थप राम्रो हुँदै जाने विश्वास उहाँको थियो । मन्त्री पुनले पर्वतीय पर्यटन, ऊर्जा तथा प्रविधिका क्षेत्रमा लगानी गर्नका लागि स्वीट्जरल्याण्डका लगानीकर्तालाई आग्रह गरिदिन भन्नुभयो ।
     
    पुनले लगानी सम्मेलनमा उल्लेख्य सहभागिता जनाउने प्रतिबद्धताका लागि धन्यवाद दिँदै त्यसअघि नै लगानीको वातावरण बनाउने गरी संसद्बाट कानून संशोधनको काम गर्न चाहेको जानकारी दिनुभयो । 
     
    यस्तै राजदूत मेउलीसँगको भेटमा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ मा संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंगो लाग्ने जानकारी दिनुभयो । 
     
    आफू विगत १५ वर्षभन्दा अघिदेखि नै सङ्क्रमणकालीन न्यायसम्बन्धी काममा संलग्न रहेको विषयमा अन्तर्राष्ट्रिय समुदायसमेत जानकार रहेको बताउनुभयो । बजेटमा आफूले सङ्क्रमणकालीन न्यायसँगै पीडितका लागि उपलब्ध गराइने परिपूरणका लागि शान्ति  कोषको व्यवस्था गर्न लागेको भन्दै त्यसमा सहयोग गर्न मेउलीमार्फत स्वीस सरकारलाई आग्रह गर्नुभयो ।


    बिहिवार, चैत्र १ २०८००२:११:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij