काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन नयाँ गठबन्धनको संयुक्त कार्यदलको बैठक आज बस्ने भएको छ ।
कार्यदलको बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बस्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो ।
यसअघि भएको छलफलमा न्यूनतम कार्यक्रम ‘छोटोमीठो बनाउने’ बारेमा कुरा भएको जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले बताउनुभएको थियो।
उहाँले सकेसम्म छिटो न्यूनतम साझा कार्यक्रम बनाउने र सो कार्यक्रम गठबन्धनका बीचमा भएको राजनीतिक सहमतिमा आधारित हुने बताउनुभयो। सत्ता गठबन्धन बनेपछि दलहरूले न्यूनतम साझा कार्यक्रम बनाउन संयन्त्र गठन गरेका थिए।
नयाँ गठबन्धनको कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन् ।