काठमाडौं। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको गम्भिर आरोप लगाउनु भएको छ।
आज जारी प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै उहाँले प्रधानमन्त्री प्रचण्डले राजनीतिक समीकरण फेरेर धोका दिए पनि विश्वासको मत भने दिने बताउनु भयो।
उहाँले नेपालको राजनीतिमा धोखा र षड्यन्त्र चल्ने गरेको भन्दै भोलि एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले घाँटी जोडे वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालत के हुन्छ? भनेर प्रश्न गर्नुभयो ।
पाण्डेले एकीकृत समाजवादी पार्टी व्यक्तिवादका विरुद्ध विद्रोह गरेर जन्मेको शक्ति भएको पनि बताउनु भयो। उहाँले भन्न्ुभयो, ‘विष पिएर हामी तपाईंहरुका साथमा थियौं तर हामीलाई बाटामा छाडेर खोलाले ठुटो बगरमा छोडे जसरी छोडेर हिँड्नुभयो,यो भन्दा अनैतिकता के हुन्छ ?’
उहाँले प्रचण्डलाई एकचोटी आफ्नो पार्टीको ठाउँमा रहेर सोच्न पनि आग्रह गर्नुभयो। ‘ओलीजी र शेरबहादुरजीले घाँटी जोडे भने तपाईंको हालत के हुन्छ? यस्तो खालको व्यवहारप्रति घोर आपत्ति छ, नेपालको राजनीतिप्रति शंका,षडयन्त्रबाट उँभो लाग्दैन।’ पाण्डेको भनाई थियो।