काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को पहिचान, परीक्षण र उपचारको दायित्वबाट सरकार पछि नहट्ने बताउनुभएको छ।
यद्यपि सक्नेले आफै उपचार गर्नुपर्ने सरकारको दृढ मान्यता रहेको प्रधानमन्त्रीले बताउनुभयो।
शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीबाट जोगाएर नागरिकको जीवन रक्षा गर्ने सरकारको परम कर्तव्य रहेको बताउँदै संक्रमितको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने बताउनुभयो।
उहाँले पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी विरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहेको बताउनुभयो।
संक्रमितको मृत्यु हुँदा पूर्ववत् गरिँदै आएको शव व्यवस्थापनको व्यवस्था पनि यथावत कायम रहेको प्रधानमन्त्रीले बताउनुभयो।
उहाँले कोरोना संक्रमितको उपचारको दायित्वबाट भाग्यो भनेर सरकारको बदनाम गर्ने प्रयास भएको बताउनुभयो।
राष्ट्रिय विपत्तिका बेला अफवाह चलिरहने र तीनलाई विश्वास नगर्न प्रधानमन्त्रीको आग्रह छ।
सरकाले हुनेले नहुनेलाई सहयोग गर्न मात्र आह्वान गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।
तर यता कुनै संक्रमितले उपचार खर्च तिर्न सक्दिनँ भनेर घोषणा गरेमा सरकारले उपचार गरिदिने व्यवस्थाले सकारात्मक परिणाम नदिने जनस्वास्थ्यविदहरुले बताएका छन्।
जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेले निशुल्क यपचारका लागि स्वं घोषणा गर्न लगाउनु भनेको संक्रमितलाई उपचार नदिएरै घर फर्काउनु जस्तै भएको बताउनुभयो।
हजारौँ लाखौँ रकम धरौटी राखेमा मात्रै उपचार हुने सूचना सरकारी अस्पतालहरुमा टाँस भएका बेला बसैले उपचार गर्न सक्दिनँ भनेकै भरमा उसको उपचार राज्यले गरिदिन्छ भनेर विश्वास मान्न नसकिने उहाँले बताउनुभयो।
डा. पाण्डेले उपचार खर्च तिर्न सक्ने व्यक्तिले यसअघि पनि निजी अस्पतालहरुमा नै परीक्षण र उपचार गरिरहेको कुरा सरकारले बिर्सन नहुने बताउनुभयो।
निजी अस्पतालमा रकम तिरेर उपचार गर्न चाहनेहरुलाई अवसर दिएको स्वास्थ्य मन्त्रालयको भनाई पनि जायज नरहेको उहाँको भनाई छ।
डा. पाण्डेले इन्तु किन्तु परन्तु केही नभनेर सरकारले सबै सरकारी अस्पतालमा कोरोना संक्रमितको निशुल्क परीक्षण र उपचारको व्यवस्था कायम गर्नुपर्ने बताउनुभयो ।
कोरोना संक्रमितको निशुल्क उपचारको जिम्मेबारीबाट पछि हटेपछि अहिले सरकारको आलोचना भइरहेको छ। संक्रमित सबैको निशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन सरकारलाई दबाब परेको छ।
तर यसअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र आज प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबाट सबै संक्रमितको निशुल्क उपचार वर्तमान सरकारले गर्नेछ भन्ने आशा राख्न सकिँदैन।