कैलाली । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सुदूरपश्चिम प्रदेशका चार मन्त्रीलाई राम्रो काम गर्न निर्देशन दिनुभएको छ ।
आज आफ्नो बर्दियास्थित घरमा सुदूरपश्चिम प्रदेशका चार मन्त्रीहरूलाई नेता चौधरीले जनतालाई प्रधान मानेर काम गर्न निर्देशन दिनुभएको हो ।
रेशम चौधरी भेट्न सुदूरपश्चिम प्रदेशबाट शुक्रवार मन्त्रीको शपथ खाएका तीन जना र यस अघि नै मन्त्री रहेको एक जना गुलरिया गएका थिए ।
नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री घनश्याम चौधरी, प्रमुख सचेतक समेत रहेका विभा विभागीय मन्त्री खुसीराम चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा चौधरी रेशम चौधरीलाई भेट्न बर्दिया पुगेका थिए ।
उनीहरूलाई बधाई दिँदै राम्रो काम गर्न रेशमले निर्देशन दिनुभएको हो ।
नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीहरूलाई निर्देशन दिइसक्नुभएको छ । समर्थन फिर्ता लिन समेत उहाँले संसदीय दलको नेतालाई निर्देशन दिइसक्नुभएको छ ।
यता समर्थन फिर्ता गर्ने विषयमा कुनै छलफल नभएको संसदीय दलका नेता घनश्याम चौधरीले बताउनुभयो ।