काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले बनेको सरकार धेरै समय नटिक्ने दाबी गर्नुभएको छ। महामन्त्री थापाले अहिलेको गठबन्धन सरकार दौडन नभै हिँड्नसमेत नसक्ने ठोकुवा गर्दै यो सरकार आफ्नै भारीले थिचिएर फतक्कै कुहिने दाबी गर्नुभयो।
एक भिडियो सन्देश जारी गर्दै बुधबार थापाले भन्नुभयो,‘यो सरकार आफैँ यसरी बनेको छ कि यो दौडिने त कुरै छोड्नुहोस्, यो हिँड्नै सक्दैन। यो आफ्नै भारीले थिचिन्छ र फतक्क कुहिएर झर्छ।’
उहाँले नयाँ गठबन्धन सरकार ढलोस् भन्ने पक्षमा आफू नरहेको बताउँदै उनले राम्रो गरोस् भन्ने शुभेच्छा राखेपनि सरकार निर्माणको प्रक्रिया हेर्दा अगाडि बढ्न नसक्ने देखिएको बताउनुभयो।
उहाँले थप्नुभयो, ‘कुनै बेला हाम्रो नेता गिरिजाप्रसाद कोइराला यस्तो खालको सरकार बन्दै गर्दा ‘फु‘ गरेर ढालिदिन्छु भन्नुहुन्थ्यो। म त्यसो भन्दिनँ। किनकि यो सरकार ढल्न फु पनि गर्नु पर्दैन।’
महामन्त्री थापाले कांग्रेस नेतृत्वको गठबन्धन भत्किनुको कारण कांग्रेस नभएको दाबी गर्दै कांग्रेसले काम गर्न नदिएको, महासमिति बैठकमा व्यक्त विचार र माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धबारे भएको टिप्पणी आदि बहानाबाजी मात्रै भएको दाबी गर्नुभयो।
एमालेको दस्तावेजमा समेत माओवादीले चाहे जस्तो भाषा र शब्दहरु नरहेको उल्लेख गर्दै महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको समेत माओवादीलाई हेर्ने दृष्टिकोण उसले चाहेजस्तो नरहेको बताउनु भयो।
बरु कांग्रेस समेतको गठबन्धनमा निश्चित समयपछि सरकारको नेतृत्व छाड्नुपर्ने भयले माओवादीले नयाँ समीकरण बनाएको उहाँको टिप्पणी छ।