काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ ।सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार आज प्रचण्डले १६ जना मन्त्री थप गर्नुभएको हो।
कार्यविभाजन गरेर प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा उनीहरूको सूची पठाएलगत्तै नयाँ मन्त्रीको आज भर्खरै शपथसमेत भएको छ। सत्ता साझेदार दलमा भएको सहमति अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्नु भएको छ।
यस्तै,पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्यविभाजन भएको छ। जसमा गिरीले यसअघि नै शपथ लिइसक्नु भएको छ।
यस्तै,माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत,रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्नु भएको छ।
यस्तै, रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्नेगरी कार्यविभाजन भएको छ। नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रीमण्डलमा भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्नु भएको छ।
जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो। वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जसपाले हस्ताक्षर गरेका छन्।
यता कांग्रेस सभापति शेरबहादुर देउवाले भने रणनीतिक कदम चाल्नुभएको छ। काउण्टर समिकरणका लागि देउवाको प्रयास जारी छ।
नयाँ गठवन्धन बनेको पुनः पहिले छुटेका पार्टी एक भएपछि नेकपा एमालेका नेता सुर्य थापाले पहिले निन्दा भत्र्सना गर्ने पार्टी आज मिलेको र सहकार्य गर्न लागेकोले अव गल्ती महसुस गर्दै अगाडि बढ्ने बताउनुहुन्छ।
यता, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ताकेन्द्रित चलखेलमा पार्टी सहभागी नहुने स्पष्ट पार्नुभएको छ।उहाँले अहिलेको समस्या व्यक्ति र नेतृत्वमा नभइ व्यवस्थामा नै भएकाले व्यक्तिपरिवर्तन गौर्ण भएको पुष्टि भएको धारणा राख्नुभएको छ।
यता नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। जनता समाजवादी पार्टी पनि तत्कालका लागि सरकारमा नजाने भएको छ। राजनितीक विश्लेषक श्याम श्रेष्ठले नव सत्तागठवन्धन बनाउने खिचडी पहिले देखि पाकेको भन्दै आमूल रुपान्तरणको बाँकी एजेण्डा कुनै पार्टीसंग बाँकी छ ? भन्दै प्रश्न गर्नुहुन्छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनाएपछि मन्त्रीले सपथ लिने बेलासम्म अर्को समीकरण निर्माणका लागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्य दलहरुका नेताहरुलाई भेट्ने क्रम भने जारी राख्नुभएको छ।
अहिले देउवा निवास बुढानीलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी लगायतका नेताहरु छलफलमा छन्। तीनैजना अध्यक्षलाई फोन गरेर देउवाले भेट्न बोलाउनु भएको हो।