काठमाडौं।बेला–बेला अस्थिर भइरहने नेपालको राजनीतिमा फेरि तरंग सिर्जना भएको छ।नेपाली कांग्रेससँगको सम्बन्ध चिसिँदै गएपछि माओवादी केन्द्रले एमालेसँग छलफल अघि बढाएको देखिन्छ। राष्ट्रियसभा निर्वाचनमा कोशीको मतपरिणाम अनपेक्षित आउनु र कांग्रेसको महासमिति बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने सन्देश दिनुले माओवादी आत्तिएको हो
शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको छुट्टाछुट्टै भेट भएको थियो। ओली बालुवाटारबाट बाहिरिए लगत्तै देउवाको प्रवेश भएको थियो। यता, कांग्रेस नेता आनन्द ढुंगानाले भने गठबन्धन दलभित्र भएका कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो ।
पछिल्लो समय माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्षमा आफ्नो उम्मेदवार उठाउने तयारी गरिरहेको छ। कांग्रेससँग भएको सहमतिलाई लत्याएर माओवादी जानुले पनि गठबन्धनभित्र असहज परिस्थिति निर्माण भइरहेको संकेत गर्दछ। माओवादी केन्द्रका नेता अमनलाल मोदीले प्रधानमन्त्रीलाई काम गर्न असहज भइरहेको र गरिएका बाचाहरु पनि पूरा नहुनुले गठबन्धमा विशेष गरी कांग्रेसको भूमिका द्वेध देखिएको छ।
नेकपा एमाले पनि गठबन्धन भत्काउने दाउमा लागेको छ। माओवादीका शर्तहरुमा लचक बन्दै गएको एमालेलाई मनाएर टीआरसी विधेयक पारित गर्नेदेखि राष्ट्रियसभा आफै लिने पक्षमा प्रचण्ड रणनीति छ। एमालेका नेता कृष्णभक्त पोखरेलले पनि आम नेता, कार्यकर्ताको मनोभावना एकपटक पुनः बामएकता रहेको दाबी गर्नुभयो ।
मुलुकमा राजनीतिक अस्थिरताले विकास र समृद्धिका ढोका जहिले बन्द अवस्थामा रहेका छन्। सरकार बनाउने र टिकाउने खेलमा राजनीतिक दलहरुको कसरत हुँदा नागरिकले दुःख पाइरहेका छन् बढ्दो विदेशिने दर, ऋण, घटेको उत्पादनले देश टाँट पल्टिने खतरा बढ्दै गएका बेला खिचातानीको सट्टा एकता अपरिहार्य देखिन्छ ।