काठमाडौं। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग(टीआरसी) सम्बन्धी विधेयकलाई टुंगोमा पुराउन प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिले छलफल सुरु गरेको छ।
विधेयकमा सहमति जुटाउन आज बिहान मात्रै पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछाने, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको थियो।
भेटमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन प्रधानमन्त्रीले नेताहरूसँग सहमति माग्नुभएको थियो। त्यस क्रममा एमाले अध्यक्ष ओलीले विधेयक अघि बढाउने सहमति दिनुभएको थियो।एमाले प्रमुख सचेतक पदम गिरीले सहमतिबाटै विधेयक अघि बढाउने सहमति भएको जानकारी दिनुभयो।
सरकारले पनि संसद्को चालू अधिवेशनबाटै विधेयक पारित गर्ने बताउँदै आएको छ।शिर्ष नेताहरुसँगको भेटवार्तालगत्तै आज बिहान ११ बजेका लागि बोलाएको बैठक केही बेर अगाडीबाट मात्रै सुरू भएको छ।