काठमाडौं।सत्ता गठवन्धनबारे यतिखेर टुटफुटको चर्चा चुलिएको छ। पछिल्लो समय गठबन्धनको निरन्तरताको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री र मन्त्रीहरुले नै बोल्दै हिड्नुपरेको छ।राष्ट्रियसभाको अध्यक्षमा आ–आफ्नो दाबीको कारण कांग्रेस र माओवादी केन्द्रबीच अहिले सम्बन्ध चिसिएको हो ।
खासगरी राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा आफ्नो दलको उम्मेद्वार पराजित भएपछि र कांग्रेस महासमिति बैठकमा उठेका प्रसंग पछि माओवादी नेतृत्व कांग्रेससँग असन्तुष्ट छ ।
माओवादीका अधिकांश नेतृत्व तहका नेताहरुले कांग्रेससँगको सहकार्य पूनर्विचार गर्नुपर्ने आवाज उठाएको बेलामा अहिले राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मुखमा सत्ता गठबन्धनका दुई मुख्य घटक कांग्रेस र माओवादी वारपारको स्थितिमा आईपुगेका छन् ।
तर, नेकपा माओवादी केन्द्रका उपमहासचिव चक्रपाणि खनालले सत्ता गठबन्धन टुटाउनेबारे छलफल नभएको बताउनुहुन्छ । खनालले आगामी चुनावमा को सँग तालमेल हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको भए पनि अहिलेलाई तत्काल यो गठबन्धन टुटिहाल्छ भनेर भन्नु गलत भएको तर्क गर्नुभएको छ ।
उहाँले यसो भनिरहदा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहिदिन अघि बोल्दै कांग्रेस महासमिति बैठकले आवश्यकै नभएको बिषय गठवन्धन गरिदैन भन्ने बिषय उठाएकाले यसले तरंग उत्पन्न भएको बताउनु भएको थियो ।
त्यसो त शुक्रवार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन नटुट्ने प्रतिवद्धता जनाउनु भएको थियो भने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रिय सभा अध्यक्ष कसले लिने भन्ने विषयमा देखिएको विवादका कारण गठबन्धन भत्किन नदिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पुर्णवहादुर खड्काले गठवन्धन कुनै हालतमा नटुट्ने बताउनुहुन्छ । ५ बर्षसम्म गठवन्धन दायाँबायाँ नहुने उहाँको भनाई छ । असहमति भएका कुरामा बसेर टुंगो लगाउने उहाँको दाबी छ ।
नेकपा एमालेले गठवन्धनका गतिविधी नियालिरहेको छ। उसले यो गठवन्धन फुट्ने दाबी गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठवन्धन खरानीको डल्लो भएकाले छिट्टै टुट्ने दाबी गर्नुहुन्छ ।
कांग्रेस महासमिति बैठकबाट पारित भएका केही प्रस्ताव,महासमिति बैठकमा माओवादीमाथि भएको टीकाटिप्पणी र कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा माओवादीकी उम्मेदवार चम्पा कार्कीले ब्यहोर्नुपरेको हारका कारण प्रचण्ड–देउवाबीचमा दुरी बढेको हो।
कांग्रेसले अब राष्ट्रियसभाको अध्यक्ष माओवादीलाई नै दिने सहमति गरेपनि प्रचण्ड एमालेसँगको सहकार्यको लागि धेरै अघि बढेको दाबी स्रोतले गरेको छ। सत्ता–सहकार्यको लागि पटक पटक ओली र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता पनि भएको छ।
सत्तारुढ गठबन्धन दलका नेताबीच भएको सहमतिअनुसार प्रचण्डले अब १० महिना सरकारको नेतृत्व गर्नुहुने छ। त्यसपछि एक वर्ष नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले सरकारको नेतृत्व गर्नुहुनेछ भने बाँकी दुई वर्ष चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने छ ।