काठमाडौं। नेपाली कांग्रेसले चितवनको होस्टलमा भएको शालिन पोखरेल मृत्यु प्रकरणको निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ।
कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै घटनाको छिटो भन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाही गर्नका लागि सरकारसँग माग गरेको हो ।
केहि दिनअघि चितवनको रत्ननगर नगरपालिका १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीय छात्रा पोखरेलको सोही स्कुलको होस्टेलमा मृत्यु भएको थियो। कांग्रेसले यो घटना र त्यससँग जोडिएका शङ्कास्पद विवरणहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाइ आफैँमा अत्यन्तै दुःखद त भएको छ नै झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यस पछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशङ्काको स्थिति अत्यन्तै गम्भीर छ ।’
यो दुःखद क्षणमा बालिका पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले उनको परिवारजनप्रति गहिरो समवेदना व्यक्तसमेत गरेको छ ।
यस्तो छ कांग्रेसले जारी गरेको विज्ञप्तिः
