काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन २१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नुहुने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आजको बैठकमा नै सम्बोधन गर्ने कार्यक्रम रहेपनि प्रधानमन्त्री उपत्यका बाहिर रहेकाले २१ गते सम्बोधन गर्ने तयारी गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले संसद् सचिवालयलाई पत्र लेख्दै यसबारे जानकारी गराउनु भएको हो। विपक्षी दलहरुले बालकुमारीलगायत घटनाका बारेमा सरकारको जवाफ माग्दै आएका छन्।
आजको बैठकमा समेत एमाले सांसद सूर्यबहादुर थापाले सरकार संसद्प्रति उत्तरदायी नभएको भन्दै संसदमा प्रधानमन्त्रीको खोजी गर्नुभएको थियो।
त्यसपछी सभामुख देवराज घिमिरेले सरकारका नाममा रुलिङ गर्नु भएको थियो। सांसदहरुले सरकारले सदनमा उठेका प्रश्नहरुको जवाफ नदिएको भनेर विरोध गरेपछि सभामुखले रुलिङ गर्नुभएको हो। सभमुखले एउटै विषयमा गरेको यो रुलिङ पाँचौपटक हो।