काठमाडौं । भरतपुर भ्रमण वर्ष २०२४ को शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गर्दै हुनुुहन्छ ।
पाँच पूर्वप्रधानमन्त्रीको उपस्थितिमा उहाँले भ्रमण वर्षको उद्घाटन दिउँसो १ नारायणी नदी किनारम गर्न लाग्नुभएको । यसका लागि प्रधानमन्त्री चितवन पुगिसक्नुभएको छ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहित विशिष्टि व्यक्तित्व उपस्थिति हुनेछन् ।
यसैगरी चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य तथा रास्वपाका सभापति रवि लामिछाने, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाललगायतको उपस्थिति हुने दाहालले जानकारी दिनुभयो ।
यसैगरी मन्त्री, सांसदलगायतका विशिष्ट व्यक्तिहरूको कार्यक्रममा उपस्थिति रहने दाहालले जानकारी दिनुभयो । नारायणी नदी किनारमा ५० हजारभन्दा बढीको उपस्थितिमा भ्रमण वर्षको उद्घाटन गर्ने तयारी गरिएको छ ।
भरतपुरको पर्यटकीय महत्वलाई स्वदेश र विदेशमा पुर्याउने लक्ष्यका साथ भ्रमण वर्षको आयोजना गर्न लागिएको हो । उपप्रमुख चित्रसेन अधिकारीका अनुसार भ्रमण वर्षमा आन्तरिक पाँच लाख पर्यटक र बाह्य दुई लाख पर्यटकले भरतपुर महानगरको भ्रमण गर्ने लक्ष्य राखिएको छ । सोहीअनुसार देश तथा विदेशमा समेत प्रचारप्रसारको काम गरिएको छ ।
औपचारिक कार्यक्रमअघि र पछि राष्ट्रिय र स्थानीय कलाकारले नदी किनारमा साँझसम्म प्रस्तुति प्रस्तुत गर्नेछन् । भरतपुर महानगरभित्र सात मुख्य गन्तव्य तोकिएका छन् । यसका अतिरिक्त २१ गन्तव्यको समेत प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो ।
भ्रमण वर्षका अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जभित्र खोरमा राखिएका हिंस्रक बाघलाई सर्वसाधारणले अवलोकन गर्न मिल्नेगरी महानगरको देवनगर खोरमा राखिँदै छ । सोही ठाउँमा एकसिङ्गे गैँडासमेत पर्यटकले हेर्न पाउनेछन् । ऐतिहासिक दियालो दरबारसमेत भ्रमण वर्षसँगै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ ।
भ्रमण वर्षका अवसरमा यहाँका होटल रेष्टुरेन्टले सहुलियतमा आफ्नो सेवा दिनेछन् । नारायणी र राप्ती नदीको बीचमा अवस्थित भरतपुर महानगर धार्मिकसँगै पर्यापर्यटनको हिसाबले महत्त्वपूर्ण छ ।