काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दूधको बाँकी रहेको भुक्तानी तत्कालै दिन निर्देशन दिनुभएको छ।
अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई आफ्नो कार्यालयमै बोलाएर दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिनुभएको हो।
प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानी पनि तुरून्त दिन र भुक्तानी नदिए कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको सचिवालयले जनाएको छ।छलफलमा प्रधानमन्त्रीले किसानले महिनौँसम्म दूधको भुक्तानी नपाउनुको कारणबारे चासो राख्नुभएको थियो।
साथै उहाँले भुक्तानी नपाउने अवस्थालाई गम्भीरतापूर्वक लिन र त्यसैअनुसार संस्थान तथा निजी क्षेत्रबाट गर्नुपर्ने आवश्यक सहजीकरण गर्नपनि निर्देशन दिनुभएको सचिवालयले जनाएको छ । दूध उत्पादकसहित विभिन्न १५ वटा किसान सङ्गठन अहिले आन्दोलनमा छन् ।
आफूहरुका माग सरकारले सम्बोधन नगरेको भन्दै उनीहरुले गएको बिहीवार आन्दोलनका कार्यक्रम नै घोषणा गरेका छन्। किसान सङ्गठनले संयुक्त रुपमा १६ वटा माग राखेका छन् ।