काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमाथि आरोप लगाउनु भएको छ । मन्त्री किरातीका कारण नेपाल वायु सेवा निगम झन् समस्यामा परेको आरोप उहाँले लगाउनु भएको हो ।
आज प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले निगम आर्थिक रुपमा धरासायी भएका बेला पर्यटनमन्त्रीले जहाज किनेर झन् धरासायी बनाउन खोजेको आरोप लगाउनु भएको हो ।
‘अब नेपाल एयरलाइन्सलाई कहाँ पु¥याउने हो ? कुन अवस्थामा पु¥याउने हो ? यो बारेमा सोच्नुपर्ने बेला भइसकेको छ’, उहाँको भनाई छ ।
नेपाल वायु सेवा निगमले गठन गरेको समितिले नै अहिले जहाज किन्न नसक्ने भनेको भन्दै सांसद खतिवडाले भन्नुभयो, ‘थ्री हन्ड्रेड जी भन्ने प्लेन ल्याइँदैछ जुन अहिले उत्पादनमा छैन । त्यो ल्याएर झण्डै १८ करोड कमिसन खाने खेलमा लागेको सूचना प्राप्त भएका छन् ।’
नेपाल एयरलाइन्स अहिले ४८ अर्ब रुपैयाँ घाटामा रहेको र चार वर्षदेखि ब्याज पनि तिर्न नसकेको उहाँले बताउनुभयो। निगमका चार वटा जहाजमध्ये दुई वटा न्यारोबडी र दुईवटा वाइडबडी अहिले घाटामा चलिरहेको भन्दै सांसद खतिवडाले आन्तरिक उडानका लागि ८ अर्ब रुपैयाँमा किनिएका ६ वटा चिनियाँ जहाज लिलाम गर्दा अहिले ३८ करोडमा पनि बिक्री हुन गाह्रो भएको स्मरण गराउनुभएको छ ।
सांसद खतिवडाले मन्त्री किरातीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गरेको विषयमा पनि प्रश्न उठाउनु भएको छ ।