Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विवादित मन्त्रीबारे सभामुखको रुलिङपछि पनि सरकारले दिएन जवाफ, एमालेले दियो ३ दिनको समय (खासखबर)

विवादित मन्त्रीबारे सभामुखको रुलिङपछि पनि सरकारले दिएन जवाफ, एमालेले दियो ३ दिनको समय (खासखबर)

 सत्तापक्ष र प्रतिपक्षीबीच विवाद
  • शुक्रवार, फाल्गुण ११ २०८०

  • 768
    SHARES

  • विवादित मन्त्रीबारे सभामुखको रुलिङपछि पनि सरकारले दिएन जवाफ, एमालेले दियो ३ दिनको समय (खासखबर)
    काठमाडौं । केही दिनदेखि प्रतिपक्षी दलहरूले संसदमार्फत विवादमा तानिएका मन्त्रीहरूको राजीनामा माग गरिरहेका छन् ।  सोही क्रममा आज पनि सरकारले जवाफ किन नदिएको भन्दै प्रतिनिधि सभामा विपक्षी दलहरूले चर्को आवाज उठाउँदै संसद् अवरुद्ध गरे । नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै सदन अवरुद्ध गरेको हो । 
     
    विपक्षी दलहरूले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । एमालेले ज्वालासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको समेत राजीनामा मागेको छ ।
     
    एमालेका प्रमुख सचेतक पदम गिरीले रोस्टमबाट प्रधानमन्त्रीको जवाफ कुरेको तर प्रधानमन्त्रीले स्वयम आएर जवाफ नदिएर सत्तापक्षका केही सांसदलाई बोल्न लगाएर प्रतिपक्षीमाथि हिलो छ्याप्ने काम भएको आरोप लगाउनुभयो । 
     
    प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूहरूले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ३ दिन समय दिएको छ । आज विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको संसद् सुचारु भएपछि विशेष समय लिएर बोल्नुभएका एमाले सचेतक महेश बर्तौलाले ६ फागुनको बैठकदेखि प्रतिपक्षी दलहरूले उठाएको विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभयो । 
     
    उहाँले ‘अब बस्ने बैठक, संसद्ले बनाएको तालिका बमोजिम १३ वा १४ गते हाम्रो बैठक छ, समय छान्ने सुविधा प्रधानमन्त्रीलाई भयो, उपयुक्त बैठकमा उपस्थित भएर प्रतिपक्ष बेञ्चबाट उठाएको सवाल सम्बोधन गर्न माग गर्छु ।’बर्तौलाले भन्नुभएको छ ।
     
    आजको पहिलो बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरू एमालेसहित रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए ।  संसद्मा कोरम पुग्न नदिन प्रतिपक्षले सांसदलाई बाहिर पठाएको भन्दै सत्तापक्षका सांसद राजेन्द्र केसीले आरोप लगाएपछि प्रतिनिधि सभामा होहल्ला भएको थियो । 
     
    प्रतिपक्षी दलको अवरोधका बीच सभामुख देवराज घिमिरेलेले सांसदहरूलाई बस्न आग्रह गरिरहनु भएको ।  बोलिरहेका सांसदको कुरा सुन्न आग्रह गरिरहनु भएको थियो । 
     
    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बालकुमारी घटनाका सन्दर्भमा  संसद्मा प्रधानमन्त्री वा सरकारका प्रतिनिधिहरूले जवाफ नदिएसम्म संसद् चल्न नदिने बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत फागुन ६ गते संसद्मा सम्बोधन गर्ने क्रममा बालकुमारी घटना ‘हत्या हो’ भनेको भन्दै उहाँले यदि हत्या हो भने सरकारले हत्याराहरूलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने बताउनुभयो । 
     
    राष्ट्रिय स्वतन्त्र पार्टी पनि संसद्मा कडा रुपमा प्रस्तुत भएको छ । सांसद विराजभक्त श्रेष्ठले संसद्मा गणपूरक संख्या पुर्‍याउन नसकेको भन्दै सरकारले संसद्मा माफी माग्नुपर्ने बताउनुभयो । सांसद श्रेष्ठले प्रतिपक्षीका कारण सदन रोकियो भनेर सत्तापक्ष भाग्न नपाइने भन्दै प्रतिपक्षीको कारण सदन नरोकिएको प्रष्ट पार्नुभयो । 
     
    नेकपा एमाले लगायत रास्वपा र राप्रपाले संसद्मा बालकुमारी घटना छानबिनका लागि बनेको जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई दोषी देखाउँदा पनि बर्खास्त नगरिएको भन्दै आपत्ति जनाइरहेका छन् र सदन अवरुद्ध गरेका छन् । 
     
    त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झण्डा हल्लाउँदै गएर बयान दिएको भन्दै बस्नेतलाई पनि पदमा बसिरहनु नैतिकताले नदिने एमालेले जनाएको छ ।
     
    त्यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाको नियुक्ति र रामग्रामको जग्गा लिजमा दिने गरी गरेको विवादास्पद निर्णयलाई लिएर संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले समेत राजीनामा दिनुपर्ने एमालेको माग छ । 
     
    यी मागहरू संसद्मा उठिरहँदा सरकार भने चुप लागेर बसेको छ। सरकारलाई जवाफ दिन सभामुखले रुलिङ गर्दा पनि प्रधानमन्त्री र स्वयं मन्त्रीहरूले आफूहरूमाथि आएका आरोप मौन बसेरै टारिरहेका छन् । 
     


    शुक्रवार, फाल्गुण ११ २०८००८:०१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij