काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्र भण्डारीले सिमित व्यक्तिको हातमा अर्थतन्त्र दिइएकाले नेपालको विकास हुन नसकेको दावी गर्नु भएको छ ।
धेरै व्यापार व्यवसायको अनुमतीपत्र केही निश्चित व्यक्तिलाई दिइएकाले अर्थतन्त्रको विकास हुन नसकेको उहाँको भनाई थियो । प्रतिनिधि सभाको विषेश समयमा बोल्दै सांसद भण्डारीले सार्वजनिक संस्थाहरुलाई आफै कमाए अनुसारको सुविधा लिन पाउने व्यवस्था गरेमा घाटा कम हुने तर्क गर्नुभयो ।
जंगली बाँदरले किसानलाई दुःख दिएको प्रशंग जोड्दै उहाँले किसानको अनुदान खाने र मानवलाई नै अनेक नाममा लुट्ने मानव रुपी बाँदर नियन्त्रण नगर्दासम्म देश विकास नहुने दावी गर्नुभयो । स्वदेशी उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्ने नीति राज्यले लिनुपर्नेमा जोड दिर्दै उहाँले भन्नुभयो, “हाम्रा कर्मचारीहरुको पोशाकका लागि बार्षिक पौने ६ अरब खर्च हुँदो रहेछ, त्यो सबै नेपाली उत्पादन मात्रै किन्नु पर्ने व्यवस्था गरियो भने विदेश जाने रकम रोकिन्छ, यहीँ रोजगारी बढ्छ ।
” डा भण्डारीले विदेशी मदिरा प्रयोग गर्नुको सट्टा नेपाली मदिरालाई नै प्राथमिकता दिने र गाँजा उत्पादन खुल्ला गर्ने हो भने पनि अर्थतन्त र रोजगारीमा धेरै सहयोग पुग्ने तथ्यांक प्रस्तुत गर्नुभयो ।
विदेशबाट रकम ल्याउन नियन्त्रण गर्नु गलत भएको तर्क गर्दै उहाँले त्यो व्यवस्था खारेज गर्न सरकारसँग माग गर्नुभयो । नेपाली जंगलमा काठ कुहिने र विदेशबाट बार्षिक अरबौँको काठ ल्याउने अहिलेको अवस्था अन्त्य गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । संसदबाट सर्वसम्मत पारित गरिएको चुच्चे नक्शा तत्कालिन परराष्ट्र मन्त्रालयले लुकाएर राखेको र अन्य देशहरुमा नपठाएको स्मरण गर्दै उहाँले नेपालको लागि काम गर्ने सच्चा नेपालीले त्यस्तो गौरवको विषयलाई लुकाएर राख्न नसक्ने दावी गर्नुभयो ।
भण्डारीले उहाँले नेपाल भित्र नेपाली खोज्नु पर्ने अवस्था आएको टिप्प्णी गर्नुभयो । गुल्मीको क्षेत्र नं. १ बाट निर्वाचित सांसद भण्डारीले थप्नुभयो, “हामीले राम्रो संविधान बनायौँ, सांसद र मन्त्रीहरुको संख्या, सरकारी संरचनाको संख्या धेरै बनायौँ, तर त्यो अव धान्नै नसकिने भयो, त्यसैले संविधान संशोधनका बारेमा पनि सोच्ने बेला आयो ।”
देशभरी २६ हजार जनप्रतिनिधि बनाउन तयार हुने राजनीतिक नेतृत्व डक्टर, इन्जीनियरसहित दक्ष जनशक्तिका लागि दरवन्दी खुलाउन तयार नभएको विषयमा छोराछोरीहरुले प्रश्न उठाएको उहाँले उल्लेख गर्नुभयो । देशमा लोकतन्त्रीक शासन व्यवस्था ल्याउन विगतमा धेरै त्याग गरिएको र अव विकासका लागि अरु केही त्याग गर्नु नपर्ने केवल लोभ त्याग्नु पर्ने उहाँको भनाई थियो ।