काठमाडौं। नेपाली कांग्रेसको महासमिति बैठक आज पनि बस्दैछ। ललितपुरको गोदावरीमा सोमबारदेखि सुरू भएको महासमिति बैठकमा हिजो पेश गरिएका पाँच वटा प्रतिवेदनमा आजको बैठकमा समुहगत छलफल गर्ने तयारी रहेको छ।
कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमिति बैठक दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश गरिएको जानकारी दिनु भएको छ।
हिजोको बैठकको सुरुमा उपसभापति तथा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
यस्तै, पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदनमाथि आजबाट छलफल सुरू हुने विश्वकर्माले बताउनु भयो ।
समुहगत रूपमा पाँच प्रतिवेदनमाथि आजबाट छलफल हुने कांग्रेसले जनाएको छ। महासमिति बैठक फागुन १० सम्म जारी रहने छ ।