काठमाडौं। विसं २००७ फागुन ७गते मुलुक नयाँ युगमा प्रवेश गरेको दिन,आज देशैभर प्रजातन्त्र दिवस मनाइएको छ।आजको दिनलाई आधुनिक इतिहासको प्रारम्भ बिन्दु मानिन्छ। ऐतिहासिक जनक्रान्तिद्वारा शताब्दी लामो राणा शासन ढालेर प्रजातन्त्र स्थापना भएकाले फागुन ७ मुलुक र प्रजातन्त्र पक्षधरहरूका लागि ऐतिहासिक महत्वको दिन हो।
मुलुकको इतिहासमा त्यो आजसम्मकै ठुलो प्रजातान्त्रिक आन्दोलन हो। राष्ट्रियताको जग पनि त्यही आन्दोलनको बलमा खडा भएको थियो। विसं १९९३ जेठ मा गठित प्रजापरिषद्ले राणा शासनविरुद्ध पहिलो राजनीतिक तथा संगठित विद्रोह गर्न खोजेको थियो। संगठनकै कार्यकर्ताको बदमासीले राणाको विरोधमा लाग्ने पाँच सयभन्दा बढी कार्यकर्ता पक्राउ परे।
धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई त मृत्युदण्ड नै दिइयो। मुलुकमा प्रजातन्त्र स्थापना भएपनि जनताको तन्त्र भने अझै आउन नसकेको धेरै नेताहरुले स्वीकार गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जनताले अनुभूति गर्नेगरी प्रजातन्त्र नआएको बताउनुभयो।
उता, भारत स्वतन्त्र भएसँगै नेपालमा पनि राणा शासन अन्त्य गर्नु पर्छ भन्ने आवाज मुखरित हुन थाले। भारतबाट अंग्रेजहरू बिदा हुने भएपछि अंग्रेजकै आडमा जहानियाँ शासन चलाएका राणाले अब केही गर्न सक्दैनन् भन्ने आवाज बुलन्द हुँदै गएको थियो।
नेपाल अब मुक्तिको बाटोमा प्रवेश गर्छ भन्ने उद्घोष क्रान्ति चेत भएका युवा राजनीतिज्ञ बीपी कोइरालाले गर्नुभएको थियो। कांग्रेस नेता देवेन्द्रराज कंडेलले जनताले अन्याय सहन गर्न नसकेपछि बिस्तारै राणाको विरासत ढल्दै गएको बताउनुभयो।
राणाहरूले राजालाई बन्दी बनाएर शासन चलाएका थिए। तत्कालीन राजा त्रिभुवनमा पनि राणाविरोधी चेत पलाउन थालेको थियो। सबैथोक राणाकै निर्देशनमा मात्रै गर्ने भएपछि उनमा पनि आफ्नै औचित्यमाथि प्रश्न उठ्न थाल्यो। त्यही मौकामा त्रिभुवन भारतीय दूतावासमा शरण लिन गएका थिए।
भारतीय डकोटा जहाज आएर राजपरिवारका सदस्यलाई लिएर गएको थियो। निकै मेहनत र संघर्षपछि आएको प्रजातन्त्र सिमित परिवार, वर्गका लागि मात्रै भएको राजनीतिक विश्लेषक गोविन्दमानसिंह कार्कीको भनाइ छ।
तत्कालीन बेला गरेको आन्दोलनलाई कांग्रेस बिर्सेको छ, माओवादी सशस्त्रद्वन्द्वलाई नै प्राथमिकता दिन्छ तर शताब्दीको राणा शासन ढाल्नका निम्ति भएको संघर्ष निकै बलीदानीपूर्ण रहेको थियो। आजको दिनमा संविधानले पूर्ण स्वतन्त्रताको परिकल्पना गरेपनि शासकको मति ठिक नहुँदा देशको गति ओरालो तर्फ देखिन्छ।