काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकार आफ्ना मान्छे जोगाउने र निर्दोषलाई फसाउने खेलमा लागेको आरोप लगाउनु भएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा लामिछानेले भ्रष्टाचारका फाइल खोल्ने भनेको सरकारले आफ्ना र गठबन्धनका मान्छे जोगाउनका लागि मात्र रहेछ भन्ने पुष्टि भइसकेको भन्दै अब फाइल रास्वपाका मान्छेको मात्र खोल्न माग गर्नुभयो।
सभापति लामिछानेले आफ्ना मान्छे चोख्याउनका लागि सरकारले फाइल खोल्छ र आफ्ना मान्छेलाई चोख्याउँछ भन्ने कुरा ललिता निवास, भुटानी शरणार्थी प्रकरणलगायतमा पुष्टि भइसकेको भन्दै निर्दोष व्यक्तिविरुद्ध भने उजुरी मागेर फसाउने गरेको बताउनुभयो।
यस्तै उहाँले सरकारले भ्रष्ट्राचारी संरक्षणमा संलग्न नरहेको भए बालकुमारी घटनामा दोषी ठहर भएका मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न चुनौती दिनुभयो।