काठमाडौं। सरकारले देखिनेगरि जनप्रभावकारी कामहरु गर्नुपर्ने माग आम जनताको छ। तर भनेजस्तो काम गर्न प्रचण्ड नेतृत्वको सरकारले नसकिरहेको प्रतिपक्षी दल र जनताले आरोप लगाएका छन्। सरकार जनताप्रति जवाफदेहि हुनुपर्ने आवाज सधै उठिरहेको हुन्छ।
सरकारमा रहेका मन्त्रीहरुमा जसको काम र प्रस्तुती राम्रो छैन त्यसको ठाउँमा मन्त्री परिवर्तन गरेर भए पनि देखिने र जनप्रभावकारी कामहरु हुनुपर्ने गठवन्धनका नेताहरुले बताउदै आएका छन्।
जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरु जहाँ जसमा समस्या र कमजोरी देखिएको छ त्यो ठाउँमा फेरेर अगाडि बढ्नुपर्ने तर्क गर्दै प्रधानमन्त्रीले पनि आफूले गरेका प्रतिवद्धता र संकल्प कार्यन्वयन हुने गरी कामकारवाही देखाउनुपर्ने सुझाव दिनुहुन्छ।
हिजोका दिनमा जनताको लागि गर्छौ भनेर बोल्नेमात्रै भइरहेको बताउँदै अहिले सरकारबाट काम भइरहेको तर जति भएका छन् यी प्रर्याप्त भने नभएकाले अब आगामी दिनमा नितान्त जनता र देशको विकाशका लागि काम गर्नुपर्ने बेला भएको छ।त्यसका लागि मन्त्रीहरुलाई एक्सन लिने काममा प्रधानमन्त्री प्रचण्ड पछाडि हट्नुहुदैन।
पछिल्लो समय प्रधानमन्त्री र मन्त्रीहरुको सम्वन्धमा चिसोपना आएको केहि मन्त्रीका बोली र व्यवहारले पनि देखिएको छ। अर्थमन्त्रीले प्रधानमन्त्रीसंग सल्लाह नगरि काम कारबाही अगाडि बढाएको भन्नेबारेमा स्पष्ट पार्दै अर्थमन्त्री प्रकाशशरण महतले आफ्नो र प्रधानमन्त्री प्रचण्डबीचको सम्वन्ध राम्रो रहेको जिकिर गर्नुभएको छ ।
सरकारले नतिजा दिनेगरि काम नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको काम कारबाहीप्रति आलोचना गरिरहेको छ र सरकारका कामप्रति असन्तुष्टि व्यक्त गरिरहेको छ। आज मात्रै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ।
ललितपुरको बालकुमारी घटनाको सत्यतथ्य छानबिन गर्न गठीत जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारण घटना भएको निष्कर्ष निकालेपछि तत्काल बर्खास्त गरेर कारवाही गर्न अनेरास्ववियुले सरकारसँग माग गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले टाउकोमा बम हान्ने र टाउकोको मुल्य तोक्नेहरु सरकारका लागि मरिहत्ते गरिरहेको टिप्पणी गर्नुहुन्छ।
सरकारलाई प्रतिपक्षी दलले भनिरहदा यि सबै आवाज उठिरहेका बेला सरकारले काम नभएका मन्त्रीहरुको एक्सन लिन भने ढिला गर्नुहुदैन। राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नतिजा दिन नसक्नेबारे सोच्नुपर्ने बेला आएको छ। सरकारले चाहेमा छोटो समयमा गर्नुपर्ने काम धेरै गरेर देखाउन पनि सक्दछ मात्र ईच्छाशक्तिको खाँचो हो। जनता पनि सरकारले काम छिटो छरितो रुपमा गरोस् भन्ने प्रतिक्षामा छन्।