काठमाडौं । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामान्तकुमार गोयल नेपाल आएको बारेमा सत्तारुढ दल नेकपा बेखर रहेको नेताहरुले दावी गरेका छन् ।
पार्टीलाई कुनै जानकारी नभएको र सरोकारको विषय पनि नभएको नेकपाको विदेश विभाग उप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा उहाँले भन्नुभयो, उहाँको भ्रमण वा आगमनका बारेमा मलाई पनि थाहा छैन, हाम्रो विभागलाई पनि थाहा छैन र पार्टी पनि बेखवर छ ।
उपप्रमुख रिजालले कुनै देशको गुप्तचर निकायका व्यक्ति आउनु जानुमा आफुहरुलाई र पार्टी थाहा हुने विषय नभइ सरकारलाई मात्रै जानकारी हुने बताउनुभयो ।
उहाँले कुटनीतिक अधिकारीको आवरणमा गुप्तचर निकायका व्यक्ति आएर सिधै प्रधानमन्त्रीलाई भेट्नेको विषयमा कुनै टिप्पणी गर्न नचाहेको जवाफ दिनुभयो ।
उपप्रमुख रिजालले रअका प्रमुख गोयलको भ्रमण र औपचारिक र आधिकारीक नभएको पनि जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्वन्ध सुधार गर्दै लगेको र नबुझेकाले मात्रै उहाँको भारतसँग नराम्रो सम्वन्ध छ भन्ने रिजालले टिप्पणी गर्नुभयो ।
नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई समेत गोयलको आगमनका बारेमा जानकारी नभएको र उहाँहरुका बीचमा भेटवार्ता नभएको प्रचण्डको निजि सचिवालयले जनाएको छ ।
गोयलको भ्रमणका बारेमा पार्टी भित्र कुनै छलफल र जानकारी नभएको पनि सचिवालयले दावी गरेको छ । रअ प्रमुख गोयल हिजो नेपाल आउनु भएको छ भने उहाँले प्रधानमन्त्री ओलीलाई भेटिसक्नु भएको र अन्य नेताहरुलाई समेत भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।