अफगानिस्तानमा पाकिस्तानी वाणिज्य दूतावासनजिकै भागदौड मच्चिँदा कम्तीमा १५ अफगानिस्तानीको मृत्यु भएको छ । साथै एक दर्जनभन्दा धेरै मानिसहरु घाइते भएका छन् । बुधबार जलालबाद सहरको रंगशालामा उक्त भागदौड मच्चिएको हो ।
भिसा पाउन रंगशालामा हजारौं मानिसहरु जम्मा भएका थिए । अफगानिस्तानको नाङगरहार प्रान्तको राजधानी सहरमा रहेको यो रंगशालामा भिसा आवेदन दिन तोकिएको भन्दा धेरै मानिस पुगेसँगै भागदौड मच्चिएको हो । प्रान्तीय परिषद्का सदस्य सोह्राद कादेरीका अनुसार उक्त घटनामा मृत्यु हुनेमध्ये ११ महिला छन् । त्यस्तै अन्य विशिष्ट व्यक्तिहरु पनि घाइते भएको कादेरीले बताएका छन् ।
दुई प्रान्तीय अधिकारीहरुका अनुसार पाकिस्तान भ्रमण भिसाका लागि आवश्यक टोकन तीन हजार अफगानिस्तानीलाई दिने गरी मानिसहरुलाई फुटबल रंगशालामा भेला हुन भनिएको थियो । तर, १० हजारभन्दा धेरै मानिसहरु टोकन लिन फुटकल स्टेडियम आइपुगेको कारण यो अप्रिय घटना हुन पुगेको प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोग्यानीले बताए ।