काठमाडौं। नेपाल भारत दीर्घकालिन उर्जा व्यापार सम्झौता विरुद्धको रिट निवेदनको छलफलका लागि नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनले एकएक जना एमिकस क्यूरी(अदालतको सहयोगी) पठाएका छन्।
सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायले सम्झौता नेपालको हित प्रतिकुल रहेको दावी गर्दै रिट निवेदन दर्ता गर्नुभएको थियो।
सोही रिटमाथी १६ माघमा न्यायाधीश नहकुल सुवेदीको इजलासले दुवै पक्षलाई अन्तरिम आदेश छलफलका लागि झिकाउनुका साथै एमिकस क्यूरी पठाउन नेपाल बार र सर्वोच्च बारको नाममा आदेश जारी गरेको थियो।
सोही आदेशअनुसार नेपाल बार एसोसिएसनले केदार कार्कीलाई र सर्वोच्च अदालत बार एसोसिएसनले सेमन्त दाहाललाई एमिकस क्यूरीको रुपमा पठाएको हो।अब उहाँहरुले सुनुवाईका दिन व्यापार सम्झौताको संवैधानिक अवस्थाका वारेमा आफ्नो राय दिनुहुने छ।