काठमाडौं। संघीय संसदका दुवै सदनको बैठक पर्सी सोमबार २२ गते अपराह्न ४ बजे बोलाइएको छ। अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
सभामुखबाट विधेयकबारे कानुन, न्याय तथा संसदीय मामिलासम्बन्धी मन्त्रीसँग परामर्श भइसकेको र नियमितरूपमा गर्नुपर्ने सबै कामसमेत पूरा भएको छ। त्यसैगरि, सभामुख घिमिरले दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्नुभएको छ ।
यो पटकदेखि अधिवेशनलाई कानून निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन पाक्षिक रूपमा क्यालेण्डर बनाएर जान संसद्का दुवै सदनमा तयारी भएको छ ।नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले क्यालेण्डर बनाएर गएपछि संसद प्रभावकारी हुने र सांसदहरुको समय व्यवस्थापन पनि उचित रुपमा हुने बताउनुहुन्छ ।
हिउँदे अधिवेशन व्यवस्थित र प्रभावकारी बनाउन सातामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक हुनेगरी कार्यतालिका तयार गरिएको छ ।साथै हरेक महिनाको अन्तिम साता संसद्को बैठक आयोजना नगरी सांसदलाई आफ्ना क्षेत्र र जनताका बिचमा जानका लागि समय दिने विषयमा पनि छलफल भएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले यो अधिवेशनमा धेरै भन्दा धेरै विधयेकवारे छलफल हुने र समयमै ऐन निर्माणमा जाने सहमति भएको जानकारी दिनुभएको छ ।
यसैगरि प्रमुख प्रतिपक्षी दल एमालेले सदनमा कडा रुपले प्रस्तुत हुने जनाएको छ । सदनमा कस्तो रुपमा प्रस्तुत हुने भन्नेवारे छलफल गर्न आजबाट एमाले संसदिय दलको बैठक सुरु भएको छ । एमाले नेता सुर्य थापाले सत्ताधारीलाई संसदमा कसरि उभ्याउने लगायतका बिषयमा बैठकमा छलफल हुने जानकारी दिनुभयो।
यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि संसद अधिवेसनमा कसरि जाने त्यसको तयारीबारे बैठक बसेर छलफल गरेको छ । सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफुहरुले उठाउने मुद्दाबारे छलफल भएको जानकारी दिनुभयो ।
सभामुख घिमिरेले माघ २२ गतेदेखि हुने अधिवेशनलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा सरकार र राजनीतिक दल गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ । साथै,२२ गतेदेखि नै सांसदहरूको विद्युतीय हाजिरी पनि हुने भएको छ ।
संघीय संसदमा सांसदहरूको विद्युतीय हाजिरी हुने भएको संसद् सचिवालयले जनाएको छ । यसका लागि चार वटा मेसिन राखिएको बताइएको छ । विद्युतीय हाजिरीका लागि बानेश्वरस्थित संसद् भवनमा बैठक कक्ष बाहिर व्यवस्था गरिएको छ ।