काठमाडौं । विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।
बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।
सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गाका बारेमा अनुसन्धान भइरहेको छ ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ । सोही कसुरमा उनलाई पक्राउ गरिएको सीआईबी स्रोतले पुष्टि गरेको छ।
चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ । उक्त फ्याक्ट्रीको सेयर सदस्यमा सांसद विनोदकुमार चौधरी, अरूणकुमार चौधरी लगायत रहेका थिए । कुनै समय उक्त जग्गा दिएवापत बाँसबारी छाला तथा जुत्ता कारखाना समेत सेयर सदस्य बनेको थियो ।
बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा उक्त सु फ्याक्ट्रीले लगेको कुरा डा भगवान कोइरालाले आफ्नो पुस्तक हृदयमा उल्लेख गरेका थिए । त्यसैका आधारमा उक्त विषय फेरि चर्चामा समेत आएको थियो ।