Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचार सूचकांकमा नेपालको अवस्था सुधार, सबैभन्दा कम भ्रष्टाचार डेनमार्कमा

भ्रष्टाचार सूचकांकमा नेपालको अवस्था सुधार, सबैभन्दा कम भ्रष्टाचार डेनमार्कमा

  • मंगलवार, माघ १६ २०८०

  • 528
    SHARES

  • भ्रष्टाचार सूचकांकमा नेपालको अवस्था सुधार, सबैभन्दा कम भ्रष्टाचार डेनमार्कमा

    काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अंकसहित एक सय आठौँ स्थानमा देखिएको छ ।

    नेपालले भ्रष्टाचार सूचकांकमा गत वर्षको भन्दा एक अंक सुधार गरेको छ । गत वर्ष अर्थात् सन् २०२२ मा नेपाल ३४ अंकसहित एक सय १०औँ स्थानमा थियो । त्यस्तै, सन् २०२१ मा ३३ अंकसहित एक सय १७औँ स्थानमा थियो ।

    ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका एक सय ८० मुलुकको भ्रष्टाचारको अवस्था विश्लेषण गरेकामा कम भ्रष्टाचार हुने मुलुकमा ९० अंकसहित डेनमार्क पहिलो स्थानमा छ । त्यस्तै, कम भ्रष्टाचार हुने मुलुकमा फिनल्यान्ड दोस्रो, न्यूजिल्यान्ड तेस्रो, नर्वे चौथो र सिंगापुर पाँचौँ स्थानमा छन् । त्यसपछि क्रमशः स्वीडेन, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, जर्मनी र लग्जेम्बर्ग छन् ।

    उक्त सूचीमा सोमालिया ११ अंकसहित एक सय ८०औँ स्थानमा छ । त्यस्तै भेनेजुयला, सिरिया, दक्षिण सुडान, यमनलगायत मुलुकहरू बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा छन् । नेपालका दुई छिमेकी मुलुकमध्ये भारत ३९ अंकसहित ९३औँ स्थानमा र चीन ४२ अंकसहित ७६औँ स्थानमा छन् ।

    ट्रान्सपरेन्सी इन्टरनेसनको भ्रष्टाचार अनुभूति सूचकांकले सम्बन्धित देशको सार्वजनिक क्षेत्र कति भ्रष्ट छ भन्ने कुरा देखाउँछ । यो सूचकांक तयार पार्नका लागि विश्व बैंक, वल्र्ड इकोनोमिक फोरमलगायत विभिन्न संस्थाबाट प्राप्त तथ्यांकलाई विश्लेषण गरिएको जनाइएको छ ।

    जसमा विभिन्न १३ प्रकारका सर्वेक्षण तथा जाँच गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले उल्लेख गरेको छ ।


    मंगलवार, माघ १६ २०८००३:५६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij