काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नै कारणले गठबन्धन बन्ने अवस्था सिर्जना भएको दाबी गरेको छ । एमालेबाट विद्रोह गरेर नआएको भए गठबन्धन सम्भवनै नहुने पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले जिकिर गर्नुभएको हो । नेपाली रेडियो नेटवर्कसँगको विशेष कुराकानीमा उहाँले कांग्रेस माओवादीले यो विषयलाई नजरअन्दाज गर्न नमिल्ने उहाँको भनाइ छ । अहिले आएर पार्टीको सिट संख्याका आधारमा भागबण्डा गर्नु गलत रहेको उहाँको तर्क छ । नेकपा एकीकृत समाजवादी देशैभर १९ सिटमा मात्रै प्रतिस्पर्धी रहेको स्मरण गर्दै चौधरीले अहिले सिट संख्याका आधारमा आफूहरुमाथि उपेक्षा भएको बताउनुभयो ।
गठबन्धन दलभित्र मतभेद शुरु भएको नेपाली कांग्रेसले पनि स्वीकार गरेको छ । राष्ट्रियसभा निर्वाचनमा नदेखिनुपर्ने दृष्य देखिएकोले स्वभाविक रुपमा केही दलहरु सशंकीत भएको कांग्रेसको आंकलन रहेको छ । नेता कल्याण गुरुङले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनै पर्ने बाध्यतामा कांग्रेस रहेको भन्ने हल्ला गलत साबित हुने भन्दै अहिले गठबन्धनलाई जोगाउनुनै प्रमुख आवश्यकता रहेको बताउनुभयो । देखिएका मतभेदहरु केही समयमै हल हुने उहाँको विश्वास छ ।
नेकपा एमालेले यो सरकारबाट कुनै प्रकारको प्रतिफल आशा गर्न नसकिने बताएको छ । एमालेका नेता एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले यो सरकार जनताको समस्यामा संवेदनहीन भएको बताउनुभयो । असफल सरकारलाई बोकेर हिड्ने पार्टीहरुका विरुद्ध पनि आवाज उठ्ने उहाँको तर्क छ ।
सरकार गठन र विघटन अहिलेको व्यवस्था अनुसार सामान्य प्रक्रिया हो । सरकार टिकुञ्जेल कतिको काम गर्न सक्यो भन्ने प्रमुख विषय हो । अहिले क्षणिक समयका लागि सरकार बन्ने र आयूको पनि ग्यारेण्टी नहुने भएकोले विचौलिया प्रणालीको हाबी भएको पाइन्छ । सकुञ्जेल धेरै लाभ लिने पद्धतीको विकास भएका कारण जनताको अवस्था झनै दर्दनाक बन्दै गएको छ ।