काठमाडौं । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउन नसक्ने जिकिर गर्नुभएको छ ।
उहाँले राजेन्द्र लिङ्देनको राजतन्त्र पुनर्स्थापित गर्ने एजेन्डा ‘साँढेको टाङमुनि बाल्टी थापेजस्तै’ भएको टिप्पणी गर्नुभयो ।
पूर्वराजा ज्ञानेन्द्र शाहसँग सोमबार सिमरामा भेटवार्ता गरेपछि प्रसाईंले राजेन्द्र लिङ्देनलाई पूर्वराजाले विश्वास नगरेको समेत जिकिर गर्नुभयो । उहाँले पूर्वराजासँग राजेन्द्र लिङ्देनले बेलाबेला भेटेको सत्य भएपनि वास्तविकता भने टाढा रहेको बताउनुभयो ।
उहाँले लिङ्देनले आफ्नो एजेन्डा भुलेर राष्ट्रियसभा निर्वाचनमा रवि लामिछानेका ससुरा समेत रहेका उद्धव पौडेललाई जिताउन एमालेसँग राजनीति सौदाबाजी गरेको समेत आरोप लगाउनुभयो। उहाँले आफूलाई पूर्वराजाको सधैँ समर्थन रहेको जिकिर गर्दै आगामी फागुनमा हुने आन्दोलनमा पनि साथ रहने जिकिर गर्नुभयो ।