काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सांसद विकास कोषको रकम कोरोना कोषमा राख्ने प्रस्ताव नटेरेको सरकारले कोरोनाको निःशुल्क उपचारबाट भाग्न नमिल्ने दावी गरेको छ ।
राज्यको रकम जोगाउने नाममा निःशुल्क उपचार गर्न नसकिने घोषणा गर्नु सरकारको दुरदर्शी निर्णयको अभाव र व्यवस्थापकीय असक्षमता भएको काँग्रेसले टिप्प्णी गरेको छ ।
काँग्रेसले सांसद विकास कोष खारेज गर्न र त्यसको रकम कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि खर्च गर्न प्रस्ताव गर्दा सरकारले नटेरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्मरण गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग उहाँले काँग्रेसले पहिले नै राखेको व्यवहारिक प्रस्तावलाई नटेरेर अहिले रकम जोगाउने नाममा नागरिकको उपचारबाट भाग्नु सरकारको असक्षमता भएको आरोप लगाउनुभयो ।
सांसद विकास कोषको औचित्य नभएकाले त्यसलाई खारेज गर्न र त्यो रकम कोरोना कोषमा तथा स्थानीय सरकारलाई दिन काँग्रेसले पटक पटक आग्रह गर्दा पनि सरकारले नसुनेको उहाँले गुनासो गर्नुभयो ।
जनताको उपचारबाट भाग्ने सरकारलाई जनताले कर दिनु आवश्यक नभएको तर्क गर्दै उहाँले कर नतिर्ने अभियान नै चल्यो भने सरकारको हालत झन के होला भनेर प्रतिप्रश्न गर्नुभयो ।
नेकपाको सरकारले जनतालाई अहिले भोटको बदलामा चोट दियो प्रवक्ता शर्माको टिप्पणी छ । उहाँले थप्दै भन्नुभयो, “नेकपा नेतृत्वले हिजो भोट गन्ने क्रममा थियो, आज आफु नोट गन्ने र जनतालाई चोट दिने क्रममा छ ।”
प्रवक्ता शर्माले सरकारले अहिले भेन्टीलेटरको संख्या बढाउने तिर लाग्नुको सट्टामा मन्त्रीको संख्या बढाउने तिर मात्रै लागेको आरोप लगाउनुभयो ।
भ्रष्टाचार तथा अनियमिततासम्वन्धी सवै काण्डको छानविन गर्न आह्वान गर्दै उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काग्रेसको सरकारले ऐन ल्याएर गठन गराएको स्मरण गराउनुभयो ।
चीनले नेपालको भूभाग मिचेको सम्वन्धी प्रश्नमा प्रवक्ता शर्माले काँग्रेसको टोलीले एघार दिन लगाएर गरेको अध्ययनबाट चीनले नेपालीभूमी मिचेको निश्कर्ष निकालेको जानकारी दिनुभयो ।
उहाँले सरकारले भने कुनै अध्ययन नै नगरी चीनले नेपाली भूमि मिचेको छैन भनेर जवाफ दिनु राष्ट्रघाती र आपत्तिजनक भएको बताउनुभयो ।