काठमाडौं। राष्ट्रियसभा निर्वाचनको नतिजा पश्चात सत्तागठबन्धनमा सामान्य घोचपेच शुरु भएको छ। शीर्ष नेतृत्वमा रहेका नेताहरुले नबोलेपनि तल्लो पंक्तिका नेताहरुले विभिन्न टिप्पणी शुरु गरेका छन्। कोशीमा भएको फ्लोर क्रसको विषय गठबन्धन दलभित्र चर्चाका रुपमा रहेको छ।
माओवादीका नेताहरुले कोशीमा धोका भएको बताइरहँदा कांग्रेसका नेताहरु यो पक्रिया हरेकपटक दोहोरिएको स्मरण गरिरहेका छन्।विभिन्न ठाउँमा देखिएका समस्यालाई केलाएर अगाडि बढ्नुपर्ने कांग्रेस नेताहरुको तर्क छ। नेता देवेन्द्रराज कंडेलका अनुसार हरेक निर्वाचनमा केही ठाउँमा अपशोचको निर्णय आउने गरेकाले यसलाई करेक्सन गर्दै जानुपर्छ।
गठबन्धनभित्र देखिने तित्ततालाई हतियार बनाएर दाउ कुरेको एमाले भने आफ्नो मिसनमा सफलता हात पारिरहेको छैन। गठबन्धन भत्काएर नयाँ समीकरणको आशा बोकेको प्रतिपक्षी दल एमाले यो देशमा सरकारनै नरहेको ठोकुवा गर्दै हिडेको छ। एमालेका प्रमुख सतेचक पदम गिरीले सरकार ढाल्नेभन्दा पनि सरकारै नभएकोले नयाँ समीकरणको आवश्यकता रहेको बताउनुभयो।
पछिल्लो समय खस्किँदै गएको अर्थतन्त्र, बढ्दै गएको वैदेशिक पलायनका कारण सरकारको आलोचना भइरहेको छ। तेस्रोपटक प्रधानमन्त्री बन्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बोली एक व्यवहार अनेक गर्दा विभिन्न आलोचना खेप्नु परिरहेको छ।
स्वदेशको स्रोतसाधन उपयोग नगरी बढ्दै गएको परनिर्भरता, कृषि उत्पादनमा आएको ह्रासमा समेत सरकार बेखबर बनेपछि आलोचना हुन थालेको हो। नागरिक सचेतक डा.सुन्दरमणि दिक्षितका अनुसार सरकारले जनताको पक्षमा कामै गर्न सकेको छैन।
सरकार जनता र मुलुकको विकासको पक्षमा हुनुपर्दछ। यहाँ निर्माण हुने सरकारले दुई ठूला छिमेकी मुलुकको इखले पनि सुशासन र समृद्धिका लागि काम गर्न सक्नुपर्दछ। बिडम्बना अथाह सम्भावना र स्रोतको सुनिश्चितता हुँदा पनि आफू बन्ने होडबाजीका कारण जनता जहिले पनि गरिब बनिरहनुपर्ने बाध्यता छ। त्यसैले पनि सरकार ढाल्ने र निर्माण गर्ने रेस्लिङ चलिरहनेछ।