काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विकास निर्माणका आयोजना समयमा सम्पन्न नहुँदा सडक यात्रीले सास्ती पाएको बताउनु भएको छ। नेपाली कांग्रेसले सुरु गरेको संवाद यात्राको क्रममा आज मोरङको कटहरी पुग्नुभएका महामन्त्री थापाले यस्तो बताउनु भएको हो।
विकास निर्माणका कार्यहरु फास्ट ट्रयाकबाट टुंग्याउनुपर्नेमा उहाँको जोड थियो। समयमा आयोजना सम्पन्न नहुँदा मुग्लिनबाट बुटबल जाने सडक यात्रु झनै ठुलो सास्तीमा परेको बताउँदै उहाँले भन्नुभयो,‘कुनै पनि मान्छेलाई सजाय दिनु छ भने मुग्लिनबाट बस चढाएर बुटबल पठाइदिए हुन्छ।’
थापाले विकास निर्माणको आयोजना समयमै सम्पन्न गर्न ढंग नपुगेको आयोजनाको समयावधिसँगै लागत पनि बढेको बताउनुभयो। नेपालमा चाइनिज, भारतीय, अमेरिकन आएर बनाएपनि समयमा आयोजना सम्पन्न नहुने अवस्था रहेको बनाउनुभयो। नेपाली काम गरेका विकास आयोजना भने समयमै सम्पन्न हुने गरेको बताउनुभयो।
‘कतारमा इन्जिनियर पनि नेपाली, त्यो बाटो खन्ने लेबर पनि नेपाली, क्रेन चलाउने ड्राइभर पनि नेपाली छ,’ महामन्त्री थापाले भन्नुभयो, ‘त्यहाँको बाटो दुई महिनामा बन्छ। हाम्रो कहिं न कहिं केही मिलेको छैन। कहीं हाम्रो ढंग मिलेको छैन।’