काठमाडौं।नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिआरआई परियोजना नेपालका लागी अत्यन्तै हितकर रहेको बताउनु भएको छ। बिआरआई अन्तर्गतका परियोजनाहरु छिटो भन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने र यसबाट नेपालले लाभ उठाउन सक्नुपर्ने उहाँको भनाई छ।
आज काठमाडौंमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरुबीचको छलफल कार्यक्रममा महासचिव पोखरेलले बिआरआइका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्नेकुरामा आफूहरु पछि परेकोले परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो।
उहाँले नेपाल र चीनका बीचमा उच्चस्तरमा भएका भ्रमणले दुई पक्षिय सम्बन्धलाई बलियो बनाएको भन्दै विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेकोसमेत जिकिर गर्नुभयो।
महासचिव पोखरेलले बिआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै ठूला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षीय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने भन्दै कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाकाहरु नियमित सुचारु गर्न पनि आग्रह गर्नुभयो।