काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थप ३ हजार जनालाई शहीद घोषणा गरेको र उनीहरुको नाम छिटै राजपत्रमा प्रकाशित गरिने बताउनुभएको छ ।
शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले माओवादी जनयुद्धका क्रममा ज्यान गुमाएका तर शहीद घोषणा गर्न बाँकी रहेका करिव ३ हजार जनालाई पनि मन्त्रिपरिषदले शहीद घोषणा गरेको र राजपत्रमा प्रकाशित गर्ने प्रक्रिया अघि बढेको बताउनुभएको हो ।
माओवादी जनयुद्धका क्रममा ज्यान गुमाउनेहरु अरु कोही शहीद घोषणा गर्न छुटेको भए तत्काल सम्बोधन गर्ने पनि उहाँले आश्वासन दिनुभयो । आफू तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरु नछुटुन् भनेर विशेष ध्यान दिएको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धमा बेपत्ता भएकाहरुको पनि योगदानलाई कदर गर्न सरकारले सक्दो पहल गरिरहेको बताउनुभएको छ ।