काठमाडौं । समुदायमा कांग्रेस अभियान झापाको मेची पूलबाट शुरु भएको छ। यहि अभियानअन्तर्गत महामन्त्री गगन थापाले पनि आजदेखि झापाबाट ‘संवाद यात्रा’ सुरु गर्नुभएको छ । हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने पूर्व निर्धारित कार्यक्रमअनुसार थापाले आजदेखि भद्रपुरको मेची पुलबाट यात्रा थालनी गर्नुभएको हो ।
अभियानको पहिलो दिनमा गगन थापाका साथै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु कृष्णप्रसाद सिटौला, प्रदीप पौडेललगायत सहभागी भएका छन् ।
यो यात्रा २६ माघसम्म हुलाकी राजमार्ग वरपर पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म चल्ने भएको छ । यसअघि हिजोदेखि कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको छ । त्यही अभियानअन्तर्गत थापाले हुलाकी राजमार्गले छोएका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा सुरु गर्नुभएको हो ।
संवाद यात्रामा खुला छलफल, समूहगत छलफल, व्यक्तिगत छलफल र अवलोकन गरी चार प्रकृतिका कार्यक्रम हुने महामन्त्री थापाको सचिवालयले जनाएको छ ।
उहाँले संवाद यात्रामा औपचारिक कार्यक्रम नगर्ने बताउनुभएको छ । सबैजसो कार्यक्रम वडा स्तरमा आयोजना हुने र कांग्रेसको वडा तहले संयोजन गर्नेछ ।