काठमाडौं। राष्ट्रिय सभाका १९ सदस्य पदका लागि भएको निर्वाचन सौहार्दपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा शान्तिपूर्ण मतदान सम्पन्न भएको हो। १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।
निर्वाचनमा लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन्। महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित हुनुभएको छ। सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गर्नुभएको छ। अन्यतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित हुनुभएको छ।
मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन्। अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभार पाएर ढुंगाना निर्वाचित हुनुभएको छ। महिला कोटातर्फ सत्ता गठबन्धनका चौधरीले ७ हजार ९२३ मतभार प्राप्त गरी विजयी हुनुभएको छ।
सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्। महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मत ल्याउँदै निर्वाचित बन्नुभयो।अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मतसहित निर्वाचित हुनुभयो भने अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी हुनुभएको छ।
यता,राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।मतपरिणामअनुसार अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ,महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपांगता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित हुनुभएको छ।
यसैबीच, कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा(एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक विजयी बन्नुभएको छ।
त्यस्तै, राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा गठवन्धनको तर्फबाट उम्मेदवार बनेका चार जना उम्मेदवार विजयी भएका छन्। हेटौंडामा सम्पन्न मतगणना अनुसार जियी हुनेहरुमा कांग्रेसका जितजंग बस्नेत र विष्णुकुमारी पुडासैनी रहेका छन् भने माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल रहनुभएको छ।
यता,कोशी प्रदेशको निर्वाचन परिणाम अनुसार कांग्रेसका कृष्णप्रसाद सिटौला र एमालेकी रुक्मिणी कोइराला विजयी हुनुभएको छ। सिटौलाले एमाले राप्रपा गठबन्धनबाट उम्मेदवार भएका उद्धव पौडेललाई पराजित गर्नुभयो भने यता कोइरालाले गठबन्धनकी चम्पा कार्कीलाई पराजित गर्नुभएको छ।
यता, स्वतन्त्र सांसदहरुले मतदान नगर्नु लोकतन्त्र विपरित भएको राजनीतिक विश्लेषकहरुको तर्क छ। विश्लेषक भेषराज घिमिरेका अनुसार राष्ट्रियसभामा पनि राम्रा उम्मेदवारलाई छनोट गरेर भोट दिन सकिन्छ।
राष्ट्रियसभा निर्वाचन राजनीतिक दलका नेता, कार्यकर्ताहरु व्यवस्थापन गर्ने थलो बनेको छ। त्यहाँका बौद्धिक जमातको खाँचो छ। संविधानले निर्दिष्ट गरेको व्यवस्था बेगर खल्तीबाट प्रतिनिधि छनोट गर्ने प्रवृत्तिले साख पनि गिर्दै गइरहेको पाइन्छ।