काठमाडौं। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानका शिक्षक कर्मचारीको बढुवा प्रक्रिया तत्काललाई रोक्न उच्च अदालत विराटनगरले अल्पकालिन आदेश जारी गरेको छ। गत पुस २९ गतेदेखी प्रतिष्ठानका शिक्षक र कर्मचारीहरु बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै आन्दोलनमा उत्रिएपछी आन्दोलनविरुद्ध अर्थात बढुवा प्रक्रिया रोक्न माग गर्दै अदालतमा रिट परेको थियो।
उक्त रिटको सुनुवाई गर्दै उच्च अदालत विराटनरगले आज तत्काल प्रक्रिया रोकेर १७ माघमा छलफलका लागि दुवै पक्षलाई हाजिर हुन अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।
सोमबार र मंगलबार आन्दोलनरत पक्षको माग सम्बोधन गर्नका लागि बसेको कार्यकारिणी समितिको बैठक निष्कर्षबिहिन भएको थियो। उपकुलपति प्रह्लाद कार्कीले बढुवाका लागि प्रकाशित विज्ञापन अनुसार अन्तरवार्ता अघि बढाउन नमानेपछी समस्या भएको हो। अदालतको आदेशले उपकुलपति कार्कीलाई नै सहज भएको छ ।
प्रतिष्ठानको बढुवा सुचारु गर्न माग गर्दै सुरु भएको आन्दोलनविरुद्ध सञ्जयकुमार मेहताले उच्चमा निवेदन दर्ता गर्नुभएको थियो।आज उच्च अदालतका न्यायाधीश गणेशप्रसाद बरालको एकल इजलासले बढुवा प्रक्रिया रोकेर दुवै पक्षलाई छलफलका लागि आउन आदेश दिएको हो।