काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालमा योजनाहरु कार्यान्वायन नहुनुका कारणहरु खोज्न आग्रह गर्नुभएको छ।आज रक्षा मन्त्रालयमा योजना आयोगका अधिकारीसँग आगामी १६ औँ आवधिक योजनाकाबारेमा छलफल गर्दै यस्तो आग्रह गर्नुभएको हो।
उहाँले विगतमा बनाएका योजना के कति कारणले पूरा भएनन्? तिनको समस्या पत्ता लगाई समाधानका उपायसहित १६ औँ योजना तर्जुमा गर्न सुझाव दिनुभएको हो।
अब योजना बनाउँदा विभिन्न कारणले विकास निमार्णमा पछि परेका प्रदेशलाई क्षतिपूर्ति सहितको योजना बनाउने विषयमा पनि योजना आयोगका पदाधिकारीको ध्यानाकर्षण गराउनु भयो। यसरी योजना बनाउँदा सम्बन्धित प्रदेशका जनताले अनुभूति गर्ने र व्यवहारमा लागु हुनेगरी बनाउनुपर्ने उहाँको सुझाव थियो।
छलफलमा उहाँले आगामी योजना तर्जुमा गर्दा देशको भूगोल र मौसमअनुसार कहाँ के उत्पादन हुने हो त्यसको ठोस अनुसन्धान गर्न र किसानको उत्पादनले बजार पाउने सुनिश्चितता गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभएको छ।
कुनै पनि योजना बनाउँदा जनताले दैनिक रुपमा भोगिरहेका समस्याको समाधान हुने र जनताले पाउने सेवा सुविधालाई थप सहज बनाउने गरी समग्रतामा उल्लेख गरी कार्यान्वयन योग्य लक्ष्य प्राप्तीको सुनिश्चितता गर्न उपप्रधानमन्त्री खड्काले आग्रह गर्नुभयो ।