काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)एकीकृत समाजवादीले पार्टीको विधान हेरफेर गर्न राष्ट्रिय सम्मेलन गर्ने भएको छ। पार्टीले यही माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन आह्वान गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।
पार्टीको राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदासम्बन्धी छलफलका लागि सम्मेलन गर्न लागिएको उहाँले बताउनुभयो।पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ।
पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने बैठकमा पार्टी सुदृढीकरणका साथै देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना सम्मेलनमा बनाइने छ।
सम्मेलनले प्रदेश,क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्नेछ भने पार्टीको पदाधिकारी, केन्द्रीय कमिटीको काम, कर्तव्य तथा अधिकारको बाँडफाँट गर्ने, पार्टी नेतृत्वका लागि उमेर, कार्यकाल, सङ्गठन निर्माणमा गरेको योगदानलगायतका आधारमा मापदण्ड पनि तय गर्नेछ।
सम्मेलनले मस्यौदा अनुमोदन गरेपछि पार्टीले त्यसैका आधारमा आगामी जेठ पहिलो सातामा पार्टीको महाधिवेशन गर्ने छ।