काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर जनस्तरबाट आएका ७५१ माग र तिनका समाधानको उपायसहितको ज्ञापनपत्र बुझाएको हो ।
एमालेले गत मंसिरमा गरेको मध्यपहाडी लोकमार्ग केन्द्रीत संकल्प यात्राका क्रममा जनताबाट आएका गुनासोलगायतका समस्या र समाधान सहितका उपाएहरु समेटेर ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा विभिन्न ४६ वटा जिल्लाबाट प्राप्त भएका ७५१ वटा माग समेटिएको छ। गण्डकीका १६१, कोशीका १७०, सुदूरपश्चिमका १३५ र बागमतीका १३३, कर्णालीका ७९, लुम्बिनीका ७५ र मधेसका ८ वटा समस्या र ती समस्याका समाधान समेटिएको एमालेले जनाएको छ।
ज्ञापनपत्र ग्रहण गरेसँगै प्रधानमन्त्री प्रचण्डले यी विषयलाई आफूले गम्भीरताका साथ लिएको र एमालेको अभियानले लोकतन्त्र बलियो बनाउन मद्दत गरेको बताउनुभयो ।