काठमाडौं। सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागी सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि पठाउने भएको छ।आगामी माघ ११ गते हुने उक्त राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी सत्ता गठबन्धनले गठन गरेको केन्द्रीय समन्वय समितिको आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो।
समिति संयोजक एवं नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको संयोजकत्वमा बसेको बैठकले निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न विभिन्न प्रदेशमा समितिबाट प्रतिनिधि पठाउने निर्णय गरेको समिति सचिव केशवराज जोशीले जानकारी दिनुभयो।
आजको बैठकमा सातै प्रदेशका उम्मेदवारसँग निर्वाचनबारे जानकारी लिएर प्राप्त सुझावबारे छलफल भएको जोशीले बताउनुभयो। सत्ता पक्षीय गठबन्धनमा आवद्ध राजनीतिक दलहरूले राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय समन्वय समिति गठन गरेका छन्।
लेखक संयोजक रहेको समितिमा माओवादी केन्द्रका वर्षमान पुन, नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र जनता समाजवादी पार्टीका मनीष सुमन सदस्य हुनुहुन्छ।