काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुसी विदेशमन्त्रीसँग नेपाली नागरिकहरूलाई त्यहाँको सेनामा भर्ना नलिन आग्रह गर्नुभएको छ । यस्तै मन्त्री साउदले भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काइदिन पनि आग्रह गर्नुभएको छ ।
युगान्डाको राजधानी कम्पालामा जारी असंलग्न राष्ट्रहरूको ‘नाम’ शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटघाटका क्रममा मन्त्री साउदले नेपाली नागरिकलाई सेनामा भर्ना नलिन र भर्ना भएकालाई फिर्ता गरिदिन आग्रह गर्नुभएको हो ।
परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति दिन पनि आग्रह पनि गर्नुभएको छ ।
जवाफमा रुसी उपविदेशमन्त्री वर्सिनिनले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गरिने बताउनुभएको छ। रुसी प्रतिनिधिमण्डलका प्रमुखसमेत रहेका उपविदेशमन्त्रीसँगको भेटमा नेपाल–रुस सम्बन्धका विविध विषयमा छलफल भएको थियो।