काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को युगाण्डा भ्रमणलाई लिएर बहस शुरु भएको छ। हुनत, भ्रमण भन्ने बित्तिकै प्रधानमन्त्री सिंगो टोली बोकेर यसअघि पनि विभिन्न देशमा पुगिसक्नुभएको छ। अमेरिका हुँदै चीनसम्मको भ्रमणमा त झण्डै १९ दिन प्रधानमन्त्री देश बाहिरनै रहनुभएको थियो।
कुनैपनि मुलुकको राष्ट्रप्रमुख लामो समय भ्रमणमा निस्किएको बिरलै भेटिन्छन्। देशको आन्तरिक अवस्था नाजुक रहेका बेला गरिने भ्रमणले के उपलब्धि हासिल हुन्छ भन्नेमा धेरैको चाँसो समेत रहने गर्दछ। शुक्रबार र शनिबार हुने असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युगाण्डा जानुभएको हो।
कुटनीतिज्ञ एवं विश्लेषक डा. लोकराज बरालले युगाण्डामा परराष्ट्रमन्त्री स्तरीय भ्रमणले समेत प्रतिनिधित्व गर्न सक्ने बताउनुभयो । यो भ्रमणले न उपलब्धि, न त हानी नै गर्ने उहाँको भनाइ छ । राज्यको स्रोत भने खर्च हुनेछ ।
प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई लिएर विभिन्न बहस भइरहेका बेला माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले भने राष्ट्र प्रमुखले गर्ने भ्रमण मुलुकका लागि उपलब्धिपूर्ण हुने दाबी गर्नुभएको छ। उहाँले सबै मुलुकका राष्ट्र प्रमुखहरुको सामिप्यताबाट देशमा लगानीको वातावरण जुट्ने समेत विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन् । प्रधानमन्त्री प्रचण्डले भ्रमण नेपालका लागि निकै महत्वपूर्ण रहेको दाबी गर्नुभएको छ ।
उहाँले नेपालको राष्ट्रिय हित र साझा मुद्दाहरूको उठान एवं कार्यान्वयनका दृष्टिले रणनीतिक महत्वको हुने विश्वास व्यक्त गर्नुभएको छ । विगतमा भएका भ्रमणहरुबाट उपलब्धि हासिल नभइरहेका बेला यो भ्रमणले पनि नेपाल र नेपालीको जीवनमा परिवर्तन ल्याउला भन्ने विश्वास गर्न सकिँदैन। बरु असंलग्न राष्ट्र नेपालको गरिमा जोगाउन आन्तरिक स्थिति बलियो बनाउने तर्फ ध्यान दिनु अपरिहार्य देखिन्छ।