काठमाडौं। नेपाली कांग्रेसका नेता श्याम घिमिरेले निर्वाचन प्रणालीकै कारण कुनैपनि सरकार दरिलो र दिगो हुन नसकेको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले नेपाललाई सधैं अस्थिरताको बाटोमा लैजानका लागि अहिलेको निर्वाचन प्रणालीले काम गरेको जिकिर गर्नुभएको हो।
घिमिरेले सरकारमा आउनेले आफ्ना मान्छे भर्ती गर्ने प्रवृत्तिको विकास भएको पनि टिप्पणी गर्नुभयो। उहाँले अहिले गठबन्धनको सरकार भएकोले सरकारको काममा खासै प्रभावकारी नदेखिएको र भोलि अर्को गठबन्धनको सरकार बनेपनि योभन्दा राम्रो गर्न नसक्ने ठोकुवा गर्नु भयो।
उहाँले कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाए राम्रो हुने र बनाउन सकिने स्थिति रहेपनि अहिले ठूला दलहरुबीच धेरै नै अविश्वास रहेकोले त्यो पनि सम्भावना नदेखिएको तर्क गर्नुभयो । एमालेले गत वर्षको पुषमा नै कांग्रेसको नेतृत्वमा सरकार बनाउने भनेर झुक्याएको र पछि प्रचण्डलाई प्रधानमन्त्री बनाएको आरोप लगाउनुभयो ।