काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वका अवसरमा सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ।शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबीच बन्धुत्व,आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वाससमेत व्यक्त गर्नुभएको छ।
उहाँले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ। उहाँले माघी पर्वजस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै सांस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिए हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वूर्ण भूमिका रहने बताउनुभयो।
राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा,“यस पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आइरहेका छन्। थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदछन् भने मगर समुदायमा यस दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ। तराईवासीले ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउँदछन्।पवित्र नदी एवं त्रिवेणीहरूमा स्नानपश्चात् पूजाअर्चना गरी घीउ,चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता खाद्य परिकार सेवन गर्ने परम्परा छ,”उल्लेख गरिएको छ ।
सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउने उहाँको भनाइ छ।