काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी ४ माघमा युगाण्डा जानुहुने भएको छ। असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगाण्डा जान लाग्नुभएको हो ।
प्रधानमन्त्री नेतृत्वमा जान लागेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव सेवा लम्साल, प्रधानमन्त्रीकी छोरी गंगा दाहालका साथै उच्च सरकारी अधिकारीहरु रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।
असंलग्न राष्ट्रहरुको सम्मेलनको एउटा सत्रमा प्रधानमन्त्री प्रचण्डले ५ माघमा सम्बोधन गर्नुहुनेछ भने सोही दिन युगाण्डाका राष्ट्रपतिले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ ।
सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सम्मेलनअघि मन्त्रीस्तरीय बैठक भएकाले परराष्ट्रमन्त्री साउद भने २ माघमै युगाण्डा जानुहुने छ । प्रधानमन्त्री ७ माघमा स्वदेश फर्किने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।