काठमाडौं । कोरोनाबाट सङ्क्रमितहरुको उपचार सरकारले नगर्ने सरकारको निर्णयप्रति नागरिक अगुवाहरुले आक्रोश व्यक्त गरेका छन्
महामारीको बेलामा नागरिकलाई उपचार गर्नु सरकारको सवैभन्दा आधारभूत दायित्व भएपनि सरकार त्यसबाट पछाडि हट्नुले सरकारको औचित्य समाप्त भएको उनीहरुको भनाई छ ।
नागरिक अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणी दिक्षितले जनताको पैसा लुट्ने तर जनतालाई अत्यावश्यक सहयोग पनि नगर्ने सरकार किन चाहियो भन्दै प्रतिप्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, महामारीका कारण आर्थिक महासंकटमा परेका जनतालाई आर्थिक संकटबाट बाहिर निस्कन सहयोगका व्याकेज ल्याउनु पर्नेमा त्यो त गरेन, हुँदा हुँदा महामारीको रुपमा फैलिएको कोरोनाको परीक्षण र उपचार समेत नगर्ने सरकार लुटेरा हो ।
जतिसक्दो धेरै पिसिआर गराउनु पर्नेमा पिसिआर गर्दा पनि पैसा लिने निर्णय सरकारले उल्टो बाटो भएको उहाँको टिप्पणी छ ।
सरकारले केही गर्न नसक्ने भनेर हात उठाएको वा आत्मसमर्पण गरेको अवस्थामा पुगेको भन्दै उहाँले अहिलेको कम्युनिष्ट सरकार हुनु र नहुनुमा कुनै अर्थ नभएको नेपाली नेटवर्कसँग बताउनुभयो ।