काठमाडौं। आज पौष २७, पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवश, नेपाल एकीकरणका महान व्यक्तित्व पृथ्वीनारायण शाहको योगदानलाई विभीन्न कार्यक्रम मार्फत सम्झना गरिएको छ। वि.सं. १७७९ पौष २७ गते जन्मिनुभएका पृथ्वीनारायण शाहले इतिहासमा राजाको मात्रै भूमिका नखेलि राष्ट्रको निर्माण गर्नुभयो।
आजको नेपाल जुन स्थितिमा विद्यमान छ, यसको निर्माणमा निर्णयात्मक युद्ध पृथ्वीनारायण शाहले लड्नु भएको थियो। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको योगदान कसैले भुल्न नहुने बताउनुहुन्छ। उहाँले पृथ्वीनारायण शाहको योगदानलाई राजसंस्था संग मात्र दाँजेर हर्न नमिल्ने बताउनुहुन्छ।
आफ्नो ५२ वर्षकै उमेरमा मृत्युवरण गर्नुभएका पृथ्वीनारायण शाहले नेपालको आजसम्मको इतिहासमा सबैभन्दा माथिल्लो उचाइ कायम राख्नुभएको छ। पृथ्वीनारायण शाहले राष्ट्रको निर्माणमात्रै नगरि साम्राज्यवादका विरुद्ध लड्न सक्ने तागत नेपालसँग पनि छ भन्ने सन्देश ब्रिटिसहरुलाई दिनुभएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा जलपान कार्यक्रम पनि गरेको छ।
काठमाडौंको भृकुटीमण्डपमा गरेको चियापान कार्यक्रममा राप्रपाका नेता कार्यकर्ताका साथै विभिन्न राजनीतिक दलका शिर्ष नेताहरू उपस्थित हुनुहुन्थ्यो। साथै विभिन्न कूटनैतिक नियोगका पदाधिकारी पनि सहभागी रहनु भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश आफ्नै पार्टीको पहलले गर्दा नै सरकारले क्यालेण्डरमा समावेश गरेको र थप रौनक थपिएको बताउनुहुन्छ।
राप्रपाले ३०२ औँ पृथ्वी जयन्तीका अवसरमा ¥याली प्रदर्शन गरेको छ। आज राजधानीको भृकुटीमण्डपबाट सिंहदरबारस्थित पृथ्वी नारायण शाहको सालिक अगाडिसम्म राप्रपाले ¥याली प्रदर्शन गरेको हो। नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारी पनि पृथ्वीनारायण शाहले एक नेपाल बनाउन पुर्याएको योगदान बारे चर्चा गर्नुहुन्छ।
पृथ्वी जयन्तीमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण सम्मान व्यक्त गर्नुभएको छ। पृथ्वीजयन्तीका अवसरमा उहाँले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गर्नुभएको हो । सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो ।
राष्ट्रपति पौडेलसँगै समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले समेत राष्ट्रनिर्माता शाहको सालिकमा माल्यार्पण गर्नुभएको थियो। पृथ्वीनारायण शाहको नेतृत्वमा निर्माण भएको राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकता जोगाउनु सम्पूर्ण नेपालीको मुख्य दायित्व र अभिभारा हो । देशको सार्वभौमसत्ताको जगेर्ना, भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय एकता प्रदर्शन गर्नु आजको ऐतिहासिक आवश्यकता पनि हो ।